पोखरा, २७ वैशाख ।
पोखरा २५ का वडाध्यक्ष पदका नेकपा एमालेका उम्मेदवार तिर्थबहादुर थापाले वडालाई सुशासन र प्रविधिमैत्री वडा बनाउने प्रतिवद्वता जनाएका छन् । स्थानीय तहको निर्वाचन केन्द्रित घरदैलो कार्यक्रममा वडा सुशासनमैत्री भएन भन्ने मतदाताको व्यापक गुनासो आएकोले आफ्नो पहिलो प्राथमिकता वडा नं २५ लाई सुशासन र प्रविधिमैत्री वडा बनाउने घोषणा गरे, जसको सुरुआत वडा कार्यालयबाट नै उनको भनाई छ ।
थापाले कृषिको पकट क्षेत्र मानिने वडा नं २५ मा आधुनिक प्रविधिमैत्री कृषि प्रणालीमा जोड दिंदै कृषकका उत्पादनलाई बजारीकरण गर्ने जिम्मा वडाले लिई बिचौलियाको अन्त्य गर्ने बताए ।


महिला, बालबालिका, युवा, जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्ति लक्षित विशेष कार्यक्रम, आधुनिक प्रविधिमैत्री शिक्षा, रोजगारी, स्वास्थ्यलाई विशेष ध्यान दिंदै खानेपानीको व्यवस्था,पर्यटन प्रवद्र्धनको लागि होमस्टे, सेती नदि र याम्दी खोला आसपास तटबन्धको व्यवस्था, जनताको घरदैलोसम्म पुग्ने बाटो, चौरासी नहरको व्यवस्थापन, वडाका विभिन्न स्थानमा फ्रि वाइफाई जोन बनाउन जोड दिइने उनको भनाई छ ।
पत्रकारसँगको कुराकानीमा वडावासी मतदातासँग आफूले कुराभन्दा काम गरेर देखाउने प्रतिवद्वता जनाएका थापाले वडाध्यक्षमा आफू निर्वाचित भइसकेपछि पाउने सेवा–सुविधा सबै जनताको हकहित र सामाजिक विकासमा खर्चिने अठोट व्यक्त गरेका छन् । उनले वडाभित्रका सार्वजनिक जग्गा तथा मन्दिर, चैत्य, गुम्बाको संरक्षणको संरक्षण र संवद्र्धन गरिने बताए ।
अनेरास्ववियुको सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका थापाले वडामा अघिल्ला जनप्रतिनिधिले घोषणा गरेका मध्ये ७० प्रतिशत बढी काम पूरा भएको जनाए । उनले थपे, ‘अघिल्ला जनप्रतिनिधिले घोषणा गरेका विकासका योजना सबै सम्पन्न हुने थियो, तर कोभिडको कारणले विकासमा आएको पैसा दैवी प्रकोपसँग खर्चिनु प¥यो, त्यही भएर सतप्रतिशत काम पूरा भएनन् । यता प्रदेश, संघ, महानगरको सहयोगमा भएका कतिपय काम निरन्तर भई नै रहेका छन् र बाँकी काम पूरा गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ, हामी पूरा गर्छौं ।’
उमेद्वार थापाले आफूहरुले घोषणा पत्रमा समेटिएका मात्र हैन, घरदैलोका क्रममा मतदाताले राखेका कुरा पनि सुझावको रुपमा ग्रहण गर्दै पूरा गर्ने उद्घोष गरे । उनले अब मतदाता सचेत भएर गठबन्धनको लोभ लालचमा नबहकिकन सूर्य चिन्हमा मत दिई एमालेका सम्पुर्ण उमेद्वारलाई विजयी गराउन अपील गरे ।
निर्वाचन परिचालन कमिटीका संयोजक तथा वडा कमिटी अध्यक्ष ऋषिराम पौडेलले पोखराको वडा नं २५ एमालेमय भएको बताए । घरदैलोका क्रममा एमालेप्रति मतदाताको उत्साह र सकरात्मक सोचले गर्दा पोखरा २५ मा एमाले उमेद्वार तिर्थबहादुर थापा नै वडाध्यक्षमा निर्वाचित हुने दावी गरेका छन् । २०७४ सालमा करिव ७ सय मतान्तरले एमाले उमेद्वार निर्वाचित भएको वडामा अहिले पनि त्यही अनुपातको मतान्तरले तिर्थ थापा निर्वाचित हुने उनले ठोकुवा गरे ।
एमालेको तर्फबाट तिर्थबहादुर थापा अध्यक्षको उमेद्वार रहेको वडा नं २५ मा सदस्य पदका उमेद्वार सुवास भण्डारी, कृष्णबहादुर कुवँर, महिला सदस्य धना तिमिल्सिना र दलित महिला सदस्य तारा विश्वकर्मा उमेद्वार रहेका छन् । स्थानीय तहको निर्वाचन यही ३० गते शुक्रबार हुँदैछ ।
प्रतिक्रिया लेख्नुहोस्:-