पोखरा, २७ वैशाख ।
पोखरा २३ मा एमाले उमेद्वारको घरदैलो कार्यक्रम सकिएको छ । एमाले उमेद्वार, नेता, कार्यकर्तासँगै मतदाताको स्वस्फुर्त, सक्रिय र उत्साहजनक सहभागितामा घरदैलो कार्यक्रम सकिएको नेकपा एमाले वडा कमिटीका अध्यक्ष चेतनाथ भण्डारीले जानकारी दिएका छन् ।
घरदैलोका क्रममा नेपाली कांग्रेसका जनप्रतिनिधिले ५ वर्षसम्म वडा नं २३ वासीको लागि विकास निर्माणका काम नगरेकोले असन्तुष्ट वडावासीले शुक्रबार हुने स्थानीय निर्वाचनमा एमाले उमेद्वारलाई सूर्य चिन्हमा भोट दिएर जिताउन आतुर भएको मतदाताको प्रतिक्रिया रहेको भण्डारीले बताए ।


३ वटा मतदानस्थल रहेको वडा नं २३ मा भौगोलिक हिसाबले ठूलो भए पनि महागरपालिकाबाट पाउने सेवा सुविधा कम पाएको वडामा अब स्रोत साधन जुटाएर महानगरको सहयोग लिएर विकास गर्ने, बाटो निर्माण, सिँचाईको व्यवस्था लगायतका काममा प्राथमिकता दिने वडाध्यक्ष पदका एमाले उमेद्वार शिवलाल पराजुलीले प्रतिवद्वता जनाएका छन् ।
पराजुलीले वडाको मुख्य सडक बैदाम–पामे–पञ्चासे पिच कार्य यथासक्य छिटो सम्पन्न गर्ने, मार्दीदेखि घाँटीछिनासम्म सडक कालोपत्रे गर्ने, वडाभित्रका शाखा बाटो ढलान तथा पिच गरि बाह्रैमहिना सवारी चल्ने बनाउने, हाँडिखोला, बाम्दी र टोड्केखोलामा मोटरेबल पुल निर्माण गर्ने, जल, जंगल, जमिन र जडिबुटिको संरक्षण गर्ने, कृषिको आधुनिकीकरण गरी उत्पादमुलक कृषि प्रणालीलाई जोड दिने, वडाका अल्पकालिन र दीर्घकालीन गुरुयोजना सम्पन्न गर्ने लगायतका विकासका योजना प्राथामिकतामा राखेका छन् ।
उनले पर्यटन प्रवद्र्धनको लागि सिद्वबराह मन्दिरमा १ सय ८ फिटको अग्लो हनुमानको मुर्ति बनाउने उद्घोष गरे । पर्यटकीय र धार्मिक महत्वसँग जोडिएको पञ्चासे क्षेत्रसँग जोडिएको यस वडामा धार्मिक तथा पर्यटकीय विकासलाई पनि पराजुलीले महत्व दिएका छन् ।
आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि एमालेको तर्फबाट पोखरा महानगरको मेयर पदका उमेद्वार कृष्ण थापा, उपमेयरमा मञ्जुदेवी गुरुङ सहित वडा नं २३ मा वडाध्यक्षको उम्मेद्वार शिवलाल पराजुली सदस्य चेतबहादुर क्षेत्री, शान्ति पराजुली, रीता सुनार र फबेन्द्र कुमार गुरुङ चुनावी मैदानमा छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-