पोखरा, ०७ वैशाख ।
पोखरा लेडी जेसीजले जेसीज सप्ताह आयोजना गर्ने भएको छ । यहि वैशाख ९ देखि १५ गतेसम्म सप्ताह हुनेछ । सप्ताह अन्तर्गत सात दिनमा सात प्रकारका कार्यक्रम आयोजना गरिने कार्यक्रम मूल संयोजक एवं संस्थाकी कार्यकारिणी उपाध्यक्ष सरस्वती थापा क्षेत्री सरुले जानकारी दिइन् ।
उनका अनुसार कार्यक्रमको पहिलो दिन उद्घाटनसंगै युवा र महिला व्यवसायी लक्षित गरि उत्प्रेरणा तालिम हुनेछ । यस कार्यक्रमका लागि चन्द्रा राना भुजेललाई संयोजक बनाईएको छ ।


यस्तै, कार्यक्रमको दोश्रो दिन स्वास्थ्य शिविर आयोजना गरिएको छ । कार्यक्रम पोखरा महानगरपालिका वडा नं. २२ लुकुन्स्वारास्थित महेश्वरी माविमा हुनेछ । विद्यार्थी र स्थानीय समुदायलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक विनिता सुवेदीले जानकारी दिइन् ।
कार्यक्रमको तेश्रो, चौथो र पाँचौं दिन शीपमूलक तालिम आयोजना गरिएको छ । युवा र महिला व्यवसायीलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको र कार्यक्रम पोखराको लेकसाईडस्थित क्रिष्टल मन्टेसरीमा हुने संयोजक दीपा तिवारी रेग्मीले बताईन् । चौथो दिनका लागि सगुन पौडेल र पाचौं दिनका लागि रीना पौडेललाई संयोजक चयन गरिएको छ ।
कार्यक्रमको छैटौं दिन विभिन्न संघसंस्थाका महिलाहरुलाई लक्षित गरि उद्घोषण कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रम नेपाल टुरिजम बोर्डको कार्यालयमा हुने कार्यक्रम संयोजक संगीता अधिकारीले जानकारी दिईन् ।
यस्तै, कार्यक्रमको अन्तिम दिन अशक्त तथा असहाय व्यक्तिहरुलाई सहयोग गरेर कार्यक्रम समापन गरिने कार्यक्रम सगुन पौडेलले जानकारी दिईन् । आधुनिक युगको आवश्यकता अनुसार परिस्कृत ढंगबाट सामाजिक रुपान्तरणका लागि जनसमुदायलाई लक्षित गर्दै जेसीज सप्ताह आयोजना गरिएको पोखरा लेडी जेसीजका अध्यक्ष लक्ष्मी अधिकारीले बताइन् ।
संस्थाकी अध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कार्यक्रम मूल संयोजक सरस्वती थापा क्षेत्रीले स्वागत, निवर्तमान अध्यक्ष विनिता कंडेलले धन्यवाद ज्ञापन, महासचिव प्रमीला सुवेदीले सञ्चालन, जेसीज आस्थापाठ दीपा पौडेलले गरेकी थिईन् ।
प्रतिक्रिया लेख्नुहोस्:-