पोखरा, ०७ वैशाख ।
महिलाहरुलाई स्वरोजगार बनाउन बुधबारबाट पोखरामा ३८० घण्टे सहायक सिलाइ तालिम सुरु भएको छ । तालिममा २० जना महिलाहरुको सहभागिता रहेको छ । गण्डकी बहुप्राविधिक शिक्षालयले पोखरा उद्योग वािणज्य संघ र बुटिक एसोसियसन कास्कीसँगको समन्वयमा सो तालिमको आयोजना गरेको हो ।
तालिमको सुरुवात गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले स्वरोजगार हुनु भनेको आत्मनिर्भर हुनुमात्र नभएर अरुलाई रोजगारी दिने सम्भावनाको सुरुवात भएको बताए ।


पोखरा महानगरद्धारा संचालित गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले व्यवसायीहरुले करबापत् तिरेको पैसालाई महानगरले तालिममा खर्च गर्दै रोजगार सिर्जना गर्न लागेको बताए । उनले शिक्षालयले हालसम्म तालिम २२० जनामध्ये १८० जनाले रोजगारी पाएको जिकिर गर्दै तालिममा बच्चाको भोटोदेखि १५ थरीका कपडा सिलाउन सिकाइने जानकारी दिए । पोखरा उद्योग वाणिज्य संघकी महिला उद्यमी विकास उपसमितिकी संयोजक कुमारी मुना बास्तोलाले महिला उद्यमशीलता विकासमा तालिम फलदायी हुने विश्वास व्यक्त गरिन् ।
बुटिक एसोसियसन कास्कीकी अध्यक्ष शान्ति श्रीसको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव स्वेता भट्टराईले गरेकी थिइन् । तालिमको प्रमुख प्रशिक्षक गण्डकी बहुप्राविधिक विश्वविद्यालयकी मञ्जु देवकोटा रहेकी छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-