पोखरा, २४ चैत ।
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले सुकुम्बासिहरुलाई एक पटक जग्गा दिने बिषयमा कसैले अबरोध गर्न नहुने बताउनु भएको छ । नेकपा माओबादी केन्द्र पोखरा १७ ले बुधबार पोखरामा आयोजना गरेको राष्ट्रिय भूमि आयोग कास्की, अखिल नेपाल सुकुम्बासी संघ ईकाई कमिटि बिच भएको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै माओबादी केन्द्रका नेता समेत रहेका मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो ।
उहाँले भन्नु भयो “एक पटक सुकुम्बासीलाई जग्गा दिनै पर्छ, यो बिषय संविधानमा उल्लेख भएको कुरा हो, संविधानले दिएको अधिकार प्राप्त गर्नको निम्ति कोही कसैले अबरोध गर्छन भने त्यसको निम्ति लडेर अधिकार लिन हामी पछि पर्न हुदैन ।” कुनै समयमा सुकुम्बासी बस्तीहरु माथि डोजर र आगो लगानीहरु को थिए त्यसको राम्रो मुल्याङकन गरी आगामी निर्वाचनमा आफ्नो अमुल्य मतको विवेक पुर्याई मतदान गर्न मन्त्री बरालको सुझाव थियो । फेरी पनि झुक्काउन सक्ने भएकोले त्यस तर्फ सचेत रहन आग्रह गर्दै मन्त्री बरालले गत ५ बर्षमा सुकुम्बासी समस्या समाधानमा किन ढिलाई भयो त्यसको बारेमा राम्रोसंग बुझ्न आग्रह गर्नु भयो ।


राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेलले आफुहरुले जति सक्दो छिटो आम सुकुम्बासीहरुलाई जग्गा वितरण गर्न खोजे पनि स्थानिय तहको कारण ढिला भएको गुनासो गर्नु भयो । उहाँले जति सक्दो छिटो भुमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन आफु कटिबद्ध भएको बताउनु भयो । सम्बन्धित वडाहरुमा सुकुम्बासीहरुले लगत माग्न अध्यक्ष पोखरेलले आग्रह समेत गर्नु भयो । अखिल नेपाल सुकुम्बासी संघका गण्डकी प्रदेशका सहसंयोजक हर्कमान बिकले पोखरा क्षेत्रका सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन वडा कार्यालयहरुले कानमा तेल हालेर बसेका कारण जग्गा उपलब्ध गराउने बिषयमा ढिलाई भएको दाबी गर्नु भयो ।
माओबादी केन्द्र पोखरा १७ का कोषाध्यक्ष विन बहादुर नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओबादी केन्द्र पोखरा महानगर कमिटिका सदस्य इश्वरी लामिछाने, पोखरा १७ माओबादी पार्टीका अध्यक्ष शालिकराम देवकोटा, सदस्य मिना देवि बराल, नेताहरु धनबहादुर बि.क., आइमानसिंह तमु लगायतले सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-