पोखरा, १९ चैत्र ।
गुरुङ(तमु) लामा बौद्ध धर्म समाजले पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा विश्वशान्तिका लागि आयोजित कांग्युर(त्रिपिटक) वाचन महापुजा अनुष्ठान सम्पन्न भएको छ। चैत्र १३ गतेदेखि शुरु भएको अनुष्ठान अवतारी टुल्कु रिन्पोछेबाट आयु अभिशेक(वाङ) प्रदान गर्दै सम्पन्न भएको हो।
विश्वमा शान्तिको कामना एवम सन्देश फैलाउने उद्धेश्यले नेपालका सातै प्रदेशमा आयोजना गरिने कांग्युर महापुजा अन्र्तगत तमुहरुको घना बसोबास रहेको पोखराबाट प्रारम्भ गरिएको महापुजाको समापनका दिनका प्रमुख अतिथि टुल्कु रिन्पोछेले दिर्घायु,सुस्वास्थ्य एवम सफल जीवनको आर्शिवाद गर्नुहुदै कंग्युर महापुजा अनुष्ठान सम्पन्न गरिएको छ।उक्त कार्यक्रममा शताब्दी पुरा गर्नु भएका लामा गुरु चिनबहादुर गुरुङको विशेष उपस्थिती रहेको थियो।


गुरुङ(तमु) लामा बौद्ध धर्म समाजका अध्यक्ष खेन्पो शिर लामा गुरुङको अध्यक्षता र महासचिव खेन्पो दशरथ गुरुङको संचालनमा भएको समापन कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, बौद्ध अघौं सदनका उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ र चारभञ्ज्याङ तमु समाजका अध्यक्ष प्रदिपकुमार गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उक्त कार्यक्रममा गुरुङ(तमु) लामा बौद्ध धर्म समाजका अध्यक्ष खेन्पो शिर लामा गुरुङले कंग्युर वाचन महापुजा अनुष्ठान सम्पन्न गर्न सहयोग गर्नुहुने लामा गुरुहरु, संघ संस्थाहरु, विभिन्न व्यक्तित्वहरुलाई धन्यवादका साथै कंग्युर वाचन महापुजा अनुष्ठान र आयु अभिषेक(वाङ)को महत्वका बारेमा चर्चाका साथै प्रमुख अतिथि अवतारी टुल्कु रिन्पोछेको जीवनीका बारेमा जानकारी गराउनुभएको थियो।
समापन कार्यक्रममा सहयोगीहरुलाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो भने निर्माणाधिन तमु धिं नेपालका भौतिक संरचना सम्पन्न गर्नका लागि गुरुङ(तमु) लामा बौद्ध धर्म समाजको तर्फबाट अध्यक्ष खेन्पो शिर लामा गुरुङले १ लाख ५ हजार ५५५ रुपैया तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई सहयोग हस्तान्तरण गर्नुभएको थियो।
कंग्युर पुजामा धर्मदेशनाका साथै, ग्रहशान्ति धर्मपाल(महकाल) सोल्क पुजा, दिवंगत पितृको नाममा दिप प्रज्वलन, सुर चढाउने, मोन्लम वाचन गरिएको थियो भने विभिन्न दानदाताहरुले महापुजा सम्पन्नका लागि दान प्रदान गरेका थिए। कांग्युर वाचनमा दैनिक एक सय भन्दा बढी लामा गुरुहरुको सहभागिता रहेको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-