पोखरा १३, चैत ।
१९ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु–१९) महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता गण्डकी प्रदेशको टोलीलाई प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले आर्थिक सहयोग गर्ने बताउनु भएको छ । मन्त्रालयमा आइतबार आयोजित खेलाडी सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा खेलाडीहरुलाई सम्मान गर्दै मन्त्री बरालले प्रदेशको नाम उचो राख्न खेलाडीहरुले पुराएको योगदानको प्रंशम्सा गर्दै उक्त टोलीमा आर्थिक सहयोग गर्ने घोषणा गर्नु भएको हो ।
प्रदेश सरकारले सहभागि खेलाडीलाई प्रारम्भिक चरणमा जनही ५० हजार रुपैया सहयोग गर्न चाहेको उहाँले बताउनु भयो । खेलाडीको प्रोत्साहन स्वरुप केही न केही गर्नुपर्छ भन्ने मान्यताले प्रदेश सरकारले प्रारम्भिक चरणमा उक्त रकम दिने सोच बनाएको मन्त्री बरालले बताउनु भयो । उहाँले भन्नुभयो “ राष्ट्रिय प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गरी विजेता हुनु भएको तपाई सम्पूर्ण खेलाडी, अपिसियल, खेल संघ लगायतलाई बिषेश धन्यवाद दिन चहान्छु, यो जितले गण्डकी प्रदेशको गौरव र सान बढेको हामीले महशुस गरेका छौं ।” खेल क्षेत्रले व्यक्तिलाई स्वस्थ्य राख्ने, आफ्नो जिल्ला, प्रदेश र देशको पहिचान बनाउने हुदाँ आगामी दिनमा खेल क्षेत्र प्रबद्र्धन गर्न प्रदेश सरकारको ध्यान केन्द्रित हुने भएको मन्त्री बरालले बताउनु भयो । खेल क्षेत्रले पर्यटन प्रबद्र्धनसंगै आर्थिक गतिविधि समेत बढाउने जसले प्रदेशको आन्तरिक पुंजि समेत बृद्धि हुने उहाँले बताउनु भयो ।


प्रदेशका आन्तरिक मामिला मन्त्री दोबाटे विश्वकर्माले उक्त जितले गण्डकी प्रदेशलाई ठुलो खुसि प्रदान गरेको बताउदै खेल क्षेत्रमा लाग्नेहरुको जीवनको भविश्य ग्यारेन्टी गर्नुपर्ने जनाउनु भयो । सम्भावना भएका खेलाडीहरु पलायन हुने अबस्थालाई अन्त्य गर्नुपर्ने उहाँँको धारणा थियो । गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले खेलकुदबाट लाभ लिन दीर्घकालिन योजना अनुसार लगानी आवश्यक भएको बताउनु भयो । गण्डकी प्रदेशका खेलकुद परिषद सदस्य सचिव तेज बहादुर गुरुङले महिला क्रिकेटले दिलाएको जितले प्रदेशका २५ लाख जनतामा खुसि छाएको बताउनु भयो । प्रदेश सरकारले खेलकुदलाई बजेटको हिसावले बढी प्रथामिकता दिनुपर्ने उहाँले माग गर्नु भयो ।
गण्डकी प्रादेशिक क्रिकेट संघले मन्त्रालयमै आयोजना गरेको उक्त कार्यक्रममा अर्थ मन्त्री बराल, आन्तरिक मामिला मन्त्री विश्वकर्मा, प्रदेशका अर्थ तथा विकास समितिका सभापति कोइराला, प्रदेशका प्रमुख सचिव रविलाल पन्त, अर्थ सचिव बैकुण्ठ अर्याल, युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी लगायतले खेलाडीहरुलाई सम्मानपत्रको साथमा फुल माला र अविर लगायर सम्मान गर्नु भएको हो । संघका अध्यक्ष देवेन्द्र प्रजुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको संघका कोषाध्यक्ष प्रकाश पोखरेलले बताउनु भयो ।
कैलालीको धनगढीमा हालै सम्पन्न भएको सुदुरपश्चिम मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले उपाधि जितेको हो । गण्डकी प्रदेश यु—१९ महिला क्रिकेट टोलीमा अन्जली बिस्वकर्मा (उ.क), सिमाना के.सी., ज्योत्स्नीका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार, अरबिना अधिकारी, निरु जि.टि., सेरिना थापा मगर, मनिसा उपाध्याय (क), सिर्जना पौडेल, जेनिसा खत्रि, आङ पेम ल्याम्बु शेर्पा र प्रीती पराजुली रहनु भएको छ । उक्त टोलीको टिम प्रशिक्षकमा रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यबस्थापकमा एलिसा लामिछाने रहनु भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-