पोखरा २३ फागुन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार परमादेशको सरकार रहेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) को पाँचौं राष्ट्रिय महाधिवेशनलाई सोमबार पोखरामा सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले देशको अर्थतन्त्र र परराष्ट्र सम्बन्ध बिग्रिँदासमेत केहि बुद्धिजिवीहरु देशमा सबै कुरा ठिकठाक भए जसरी चुपचाप बसेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । आफ्नो नेतृत्वको सरकारका बेला सामान्य गल्तीको पनि विरोध गर्ने गरेको स्मरण गर्दै उहाँले अहिले जस्ता सुकै ठूला गल्तीहरुमा समेत चुपचाप रहनु अचम्मको विषय भएको बताउनुभयो ।


संसदबाट बन्नुपर्ने सरकार मुद्धा जितेर बनेको भन्दै ओलीले अहिलेको सरकारले गणतन्त्रकै खिल्ली उडाएको समेत बताउनुभयो । अध्यक्ष ओलीले मानव अधिकारको अवस्था अझै सुदृढ हुन नसकेको भन्दै शक्ति र संगठनको आडमा मानवअधिकार हननका घटनाहरु बढ्दै गएको औँल्याउनुभयो । उहाँले अन्य दलभन्दा एमाले मानवअधिकारको पक्षमा उदार रहेको बताउनुभयो । आफ्नो पार्टी सदैव मानवअधिकारको पक्षमा रहेको ओलीको भनाई छ ।
महाधिवेशनमा देशका ७६ जिल्लाबाट २ सय ५० जना भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको छ । भोलिसम्म चल्ने भेलाले नयाँ नेतृत्व चयनसंगै पोखरा घोषणापत्र जारी गर्ने एलाइन्सका अध्यक्ष मीनबहादुर शाहीले जानकारी दिनुभयो । यसैबीच, महाधिवेशनका अवसरमा एलाइन्सले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-