पोखरा, १४ फागुन ।
पोखरा महानगरपालिका वडा नं ३२ का सामाजिक गतिविधिमा झण्डै साढे दुई दशक यता कृयाशिल परोपकार आमा समूहको सकृयतामा शिव मन्दिर तथा आमा समूह भवन निर्माण गरिएको छ । मन्दिर तथा भवनको गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले एक कार्यक्रमकाबीच आज उद्घाटन गर्नुभयो ।
कार्यक्रममा मन्त्री थापाले पोखराको प्रवेशद्वार पोखरा–३२ का विकास निर्माण प्रदेश सरकारको प्राथमिकतामा परेको बताउनुभयो । मन्दिर, पार्टीपौवा निर्माणका साथै सभ्य समाज निर्माणमा आमा समूहहरूले विशिष्ट योगदान गर्दै आएको बताउँदै उहाँले परोपकार आमा समूहका विकास निर्माण लगायतका हरेक गतिविधिमा आफ्नो साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।


पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले परोपकार आमा समूहले विगतदेखि नै गर्दै आएका काम प्रशंसनीय भएको बताउँदै विकास निर्माणका लागि यो वा त्यो नभनी सबैको सामूहिक प्रयास आवश्यक हुनेमा जोड दिनुभयो ।
गोगन मा.वि.का अध्यक्ष एवम् लेखनाथ उद्योग वाणिज्य संघका सदस्य मेघराज पौडेलले ऋणमा रहेर पनि परोपकार आमा समूहले विकास निर्माणका काममा देखाएको सकृयता प्रशंसनीय भएको बताउँदै समूहका काममा सबैको साथ र सहयोग आवश्यक हुने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी पोखरा–३२ का अध्यक्ष किसान परियारले सकारात्मक सोचका साथ आमा समूहले रत्यौली लगायत विभिन्न सांस्कृतिक कार्यक्रम गरी पैसा जोगाएर सामाजिक काममा लगाएको बताउनुभयो ।
समाजसेवी मोहनकुमार प्रधानले आमा समूहको सकृयता प्रशंसनीय भएको बताउँदै सबैको एकतावद्ध प्रयासमा यस क्षेत्रको विकासका गतिविधि अघि बढाउन सकिनेमा जोड दिनुभयो ।
नेकपा माओवादी केन्द्रका नगर कमिटि सदस्य अर्जुन मल्लले बाढी तथा भूक्षयबाट प्रभावित पोखरा–३२ मा वर्षायाममा आउने पानीको उचित निकास आवश्यक रहेकोमा जोड दिनुभयो ।
समाजसेवी शरणकुमार प्रधानले आमा समूहले गोगन मा.वि.मा बनाएको दुईकोठे भवन, घाटमा निर्माण गरेको प्रतिक्षालय आदि अनुकरणीय कार्य भएको स्मरण गर्नुभयो । समाजसेवी शिवजी लामिछानेले सामाजिक गतिविधिमा महिलाहरूको भूमिका महत्वपूर्ण हुँदै आएको धारणा राख्दै परोपकार आमा समूहका कार्यको प्रशंसा गर्नुभयो ।
समूहका अध्यक्ष लक्ष्मी प्रधानको अध्यक्षता एवम् सचिव निर्मला भट्टराई(ढकाल)ले सञ्चालन गर्नुभएको कार्यक्रममा पोखरा रेडिमिक्स प्रा.लि.चाउथेका अध्यक्ष नारायण गुरुङ, पूर्व वडा अध्यक्ष प्रकाशचन्द्र पागल लगायतले आमा समूहको कामको प्रशंसा गर्नुभयो । उक्त अवसरमा मन्दिर तथा भवन निर्माणका सहयोगदातालाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-