पोखरा, ०७ फागुन ।
पोखरा महानगरपालिका वडा नं ३२ लामेआहाल स्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयमा ६३ लाख ६७ हजार ८६१ रुपैयाँ लागतमा विद्यालय भवन तथा शौचालय निर्माण गरिएको छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ(शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा) को आर्थिक तथा प्राविधिक सहयोगमा दुई कोठे दुईवटा ट्रष्ट भवन एवम् छात्र, छात्रा अपांगमैत्री शौचालय निर्माण गरिएको हो ।
विद्यालय भवनको एक कार्यक्रमका बीच आज गण्डकी प्रदेशका शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्त्री श्रेष्ठले संस्कृत शिक्षा केवल ज्ञान हासिल गर्ने मात्र नभै संस्कार पनि भएको बताउँदै समाजलाई सुसंस्कृत बनाउन यसको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । शिक्षा गरिएको लगानीले प्रतिफल दिनुपर्नेमा जोड दिदै उहाँले समय सापेक्ष प्राविधिक एवम् व्यवसायिक शिक्षालाई जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
पोखरा–३२ लामेआहालमा क्षेत्रीय बसपार्क निर्माणका लागि सरकारले बजेटको व्यवस्था गरिसकेको बताउँदै उहाँले जग्गा प्राप्तीतर्फ लागिएको स्पष्ट पार्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त सिग्देलले विद्यालय आर्थिक लगायतका विविध समस्याका वावजुद विद्यालय अघि बढेको बताउँदै दरबन्दी व्यवस्थापन अपरिहार्य भएको बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले विद्यालयको विकासका लागि वडाका तर्फबाट सक्दो साथ र सहयोग गरेको बताउँदै शिक्षासँगै असल संस्कार आवश्यक हुनेमा जोड दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक केशवराज पौडेलले पुर्ननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ(शिक्षा) र जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा) को ४८ लाख ८२ हजार ८५८ रुपैयाँको लागतमा दुई कोठे दुईवटा ट्रष्ट भवन र १४ लाख ८५ हजार ३ रुपैयाँको लागतमा छात्रछात्रा अपांगमैत्री शौचालय निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।
राधाकृष्ण शान्ति आश्रमका सह अध्यक्ष गणेशबहादुर केसीले विद्यालयलाई दीगो रुपमा सञ्चालन गर्न राज्यले स्थायी दरबन्दीको व्यवस्थापन गरिदिनुपर्ने बताउनुभयो । गोगन माध्यमिक विद्यालयका अध्यक्ष मेघराज पौडेलले संस्कृत शिक्षाको विकासका लागि सबैको सामूहिक प्रयास आवश्यक हुनेमा जोड दिनुभयो ।
कार्यक्रममा पद्मजगत स्मृति प्रतिष्ठानका अध्यक्ष झलकप्रसाद खनालले विद्यालयको दीगो सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यका साथ १० लाख रुपैयाँको अक्षयकोष राख्ने घोषणा गर्नुभयो । उक्त अवसरमा शिक्षक अभिभावक संघका अध्यक्ष विमलाकुमारी थापा बस्नेत, विद्यालयका विद्यार्थी रुपेश हुमागाइँ, नेपाली काँग्रेस पोखरा–३२ का सभापति कुलप्रसाद अधिकारी, विद्यालयका शिक्षक ओम थापा लगायतले बोल्नुभएको थियो । उक्त अवसरमा पद्मजगत स्मृति प्रतिष्ठानका अध्यक्ष झलकप्रसाद खनाल, निर्माण व्यवसायी छविलाल श्रेष्ठलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-