पोखरा, ०४ फागुन ।
एमसीसी सम्झौता विरुद्ध विभिन्न दलहरुले आह्वान गरेको नेपाल बन्दको प्रभाव न्यून देखिएको छ । उपत्यकामा नियमित झैं सार्वजनिक तथा निजी सवारी साधन चलेका छन् भने बजार पनि खुलेको छ । काठमाडौंबाट बाहिर जाने लामो दूरीमा गाडीहरु निकै कम मात्रामा सञ्चालन भएका छन् ।
प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा एमसिसी टेबल हुने खबर सार्वजनिक भएपछि मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चाले देशव्यापी बन्द आह्वान गरेका हुन् ।
उपत्यकामा बिहानैदेखि ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । राजधानीका सडकका चोक चोकमा दङ्गा प्रहरीहरु तैनाथ गरिएको छ । शैक्षिक संस्थाहरुमा भने बन्द आह्वानको सवै भन्दा ठूलो समस्या परेको छ । अधिकांश विद्यालय तथा कलेजहरुले बुधबार छुट्टी दिएका छन् ।
सरकारले मंगलबारनै तीन वटै सुरक्षा निकायहरुसंग एमसीसी टेबल भएपछि उत्पन्न हुनसक्ने अराजकताको विषयमा छलफल गरेको थियो भने गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई उच्च सतर्कता अपनाउन निर्देशन दिईसकेको छ ।
यस्तै एमसिसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एक मोर्चाले आज घोषणा गरेको नेपाल बन्दको प्रभाव पोखरामा पनि परेको छ । बन्दका कारण पोखरामा सार्वजनिक यातायातका साधनहरू कमै मात्रामा चलेका छन् भने निजी सवारीसाधन पनि फाटफुट रूपमा मात्र चलेका छन् ।
पोखराका मुख्य बजार क्षेत्रका पसलहरू प्रायजसो बन्द रहेका छन् । भित्री सडक खण्डमा पसलहरू केही मात्रामा खुलेका छन् । मुख्य मुख्य चोकहरूमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-