पोखरा, २६ माघ ।
क्याम्पसहरु देशले दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षालय हो । तर विडम्वना शिक्षालयहरुमा विभिन्न राजनितिक दलका विद्यार्थी संगठनहरुको राजनीतिक हस्तक्षेप हुने गर्दछ । जसको कारणले गर्दा क्याम्पस प्रशासन समेत निरिह बन्न परेको अवस्ता छ्यापछ्यापती देखिने गरिन्छ । पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि यस्तै खाले समस्याहरु देखिने गरेका छन् । पृथ्वीनारायण क्याम्पसको गेट झट्ट हेर्दा नेकपा एमालेको बिद्यार्थी संगठन अनेरास्वव्युको कार्यालय जस्तो देखिन्छ । तर यो करिब एघार हजार विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने एक शिक्षाको मन्दिर हो। नेकपा एमालेको बिधार्थी संगठन अनेरास्ववियुले पृथ्वीनारायण क्याम्पसको गेटको गजुरलाई नै छोपेर आफ्नो ब्यानर राखेको छ। यति मात्रै नभएर अनेरास्वब्युले पृथ्बीनारायण क्याम्पसको टाइटललाइ समेत छोपेर “ स्थानिय तहको निर्वाचन तुरुन्त गर, संविधान र लोकतन्त्रको रक्षा गर ” भन्दै कालो ब्यानर समेत झुण्ड्याएको छ। हामीले कुनैपनि राजनैतिक दलको बिद्यार्थी संगठनको आन्दोलन तथा मागको बिषयमा कुनै धारणा बनाउन खोजेका होइनौ । तर ११ हजार विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने एक शिक्षाको मन्दिरको टाइटल र गजुर नै छोपिने गरी कुनै राजनितिक दलको ब्यानर राख्दा राम्रो भने पटक्कै देखिदैन । के ११ हजार विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने पृथ्बीनारायण क्याम्पसको यो गेट अनेरास्ववियुको कब्जामा छ ? भन्ने प्रश्नमा पृथ्वीनारायण क्याम्पस अनेरास्ववियुका अध्यक्ष विष्णु पोखरेलले आफुहरुले क्याम्पसलाई कब्जा नगरेर नव आगन्तुक विद्यार्थीलाई स्वागत मात्र गरेको बताउनुहुन्छ ।
बाहिरी जिल्लाबाट आएका नयाँ बिद्यार्थीहरुले पृथ्बीनारायण क्याम्पस सजिलै पहिल्याउन सक्दैनन्, यदि कसैले नचिनेर फोन गरेमा त्यो धेरै व्यानरै व्यानर राखेको ठाउबाट छिर्नुहोश भन्न बाध्य भएको प्रशासकहरु बताउछन् । क्याम्पस प्रशासक नवराज वास्तोलाले प्रशासनले क्याम्पसको वोर्ड बनाउनको लागि कोटेसन मागेर काम प्रक्रिया अगाडी बढाउन खोज्दा अनेरास्ववियुकाको व्यानरले गर्दा काम गर्न नमिलेको सुनाउँ हुन्छ । हामीले व्यानर हटाइदिनुस् क्याम्पसको नाम नै देखिएन भनेर भन्दा हामीले वोर्ड हटाएपछि कुनै पनि संगठनले त्यहाँ व्यानर टास्दैन भनेर तपाइहरुले ग्यारेन्टी दिनुप¥यो भनेको बताउनुभयो । रातारात टासिने र रातारात फालिने भएकोले ग्यारेन्टी क्याम्पसले दिन नसकेको वास्तोलाको भनाई छ ।
यता क्याम्पस प्रमुख प्रा. डा सरोज कोइराला यस बिसयमा क्याम्पस प्रसासन कमजोर रहेको स्वीकार्दछन् । उहाँले विद्यार्थी संगठनका प्रमुखहरुसँग बसेर क्याम्पसको नामको टाइटल र गजुरनै ढाकिएकाले त्यहाँ व्यानर नराख्न आग्रह गर्दा केही दिन संगठनको अधिवेशन भएकोले अधिवेशन सकिने वित्तिकै हटाउने बताए पनि अहिले सम्म नहटाएको बताउनुभयो । क्याम्पसको शिक्षाको मन्दिर भएकोले त्यसलाई मन्दिर नै राख्नु पर्ने र कुनै राजनीतिक संगठनको अखडा बनाउन नहुनेमा प्रशासन प्रष्ट रहेको कोइरालाको भनाई छ ।
करिब ११ हजार विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने एक शिक्षाको मन्दिरको टाइटल र गजुरनै छोपिनेगरी यसरि ब्यानर राखिरहेको नेकपा एमालेको बिद्यार्थी संगठन अनेरास्ववियु पृथ्बीनारायण क्याम्पसका अध्यक्ष बिष्णु पोख्रेलले यो ब्यानर तत्काल हटाउने र क्याम्पस प्रशासनसँग माफी पनि मागेका छन् । अन्तत पृथ्वीनारायण क्याम्पसको नामै छोपिने गरि राखिएको कालो व्यानर अनेरास्ववियुले हटाएको छ ।
यता पृथ्बीनारायण क्याम्पसको स्वास्थ्य केन्द्र झट्ट हेर्दा अखिल क्रान्तिकारीको कार्यालय जस्तो देखिन्छ । यो कार्यालयमा स्वास्थ्य केन्द्रको व्यानरलाई नै छोपेर, नेत्र बिक्रम चन्द ’विप्लप’ ले नेतृत्व गरेको नेकपा माओबादीको बिद्यार्थी संगठन अखिल (क्रान्तिकारीले) आफ्नो सम्पर्क कार्यालयको ब्यानर झुण्ड्याएको छ। अखिल (क्रान्तिकारीले) को सम्पर्क कार्यालयको ब्यानर झुण्ड्याएको ठाउमा बिद्यार्थीहरु स्वास्थ्य सेवा लिन आउने कुरै भएन । यस स्वास्थ्य केन्द्रलेले दिएको जानकारी अनुसार गएको पुस महिनामा यस स्वास्थ्य केन्द्रमा एक जना बिद्यार्थी पनि स्वास्थ्य सेवा लिन आएनन भने मंसिर महिनामा एक जना मात्रैको अभिलेख भेटिएको छ। नेत्र बिक्रम चन्द ’विप्लप’ ले नेतृत्व गरेको नेकपा माओवादीको बिद्यार्थी संगठन अखिल (क्रान्तिकारीले) पृथ्बी नारायण क्याम्पसको यो स्वास्थ्य केन्द्रमा आफ्नो सम्पर्क कार्यालयको ब्यानर राख्दा ढड्याङ्ग ढुडुङ्ग पारेर जवरजस्ती आफ्नो कब्जामा लिएको यस स्वास्थ्य केन्द्र प्रमुख आसकुमारी गुरुङले बताउनुभयो । हामीले अखिल (क्रान्तिकारी) पृथ्बीनारायण क्याम्पसका अध्यक्ष उपेन्द्र परियारलाई व्यानरलाई तत्काल व्यवस्थापन गर्न अनुरोध गरिएको थियो । उक्त समयमा परियारले यो गलत भएको स्विकार्दै कोभिडले गर्दा विद्यार्थी नभएको समयमा ठाउँ नभएर व्यानर झुण्डाएको बताउनुहुन्छ । त्यसपछि हामीले यस अखिल क्रन्तिकरिका पृथ्बी नारायण क्याम्पसका अध्यक्ष उपेन्द्र परियारलाई यसलाई तत्काल ब्यबस्थापन गर्न अनुरोध गर्यौ। हाम्रो अनुरोधलाइ स्वीकार गर्दै परियार आफैले आफुहरुको ब्यानर भन्दा माथि स्वास्थ्य केन्द्रको ब्यनर राखेका छन् । तर प्रसासन भने बिधार्थी संगठन हरु संग निरिह बनिरहेको छ।
यस्तै पृथ्बीनारायण क्याम्पसले २०६० साल देखि आन्तरिक स्रोत व्यवस्थापनका लागि केही सटरहरु निर्माण गरि व्यवसायीक प्रयोजनका लागि भाडामा दिदै आइरहेको छ। तर ती सटर भन्दा पछाडि बनेका टहराहरु बिना स्विकृति बनाइएका छन् । ती अनाधिकृत टहराहरु हुन् । व्यवसायीरुले आ– आफ्नो सटर पछाडि, मनोमानी ढङ्गले पिएन क्याम्पसको जग्गामा यस्ता टहराहरु बनाउदै आएका छन् । व्यवसायीहरुले ती टहरा भन्दा पनि पछाडी तरकारी खेति समेत गरेका छन्। त्यहाँका ब्यबसायीहरुले यो जे गरिरहेका छन् क्याम्पसलाइ हडपेर गरिरहेका छन् । अचम्मको कुरा के छ भने राजीतिक आडकै आधारमा त्यहाँका केहि ब्यबसायीहरुले लामो समयदेखि क्याम्पसलाइ सटर भाडा समेत बुजाएका छैनन्। क्याम्पस प्रशासक नवराज वास्तोलाका अनुसार व्यवसायीहरुले आफुहरु बस्न बाहिर जानुपर्ने अथवा सटर साँघुरो भएकोले तला थपको लागि माग गरेका थिए । क्याम्पसमा बजेट नभएकोले क्याम्पसले तला थप्न सकेन तर व्यवसायीहरुले विना स्किृति रातारात ती टहराहरु निर्माण गरेका हुन् । क्याम्पस प्रमुख प्रा. डा सरोज कोइरालाले अहिले सम्म अनधिकृत रुपमा जग्गा उपभोग गरे पनि अब अधिकृत बनाउने र त्यसको लागि व्यवसायीहरुले त्यो जग्गा उपभोग गर्ने हो भने भाडा तिर्नुपर्ने जनाउनभएको छ । सरकारी सम्पती हो त्यसमा टेण्डर खुलाउने हो, जसले बढी भाडा तिर्छ उसले उपभोग गर्न पाउने कोइरालाले बताउनुभयो । कुनै व्यक्तिलाई प्राथमिकता दिन नसकिने उहाँको भनाई छ ।
यसैगरि पृथ्वीनारायण क्याम्पसको पछाडिको भाग, यहा करिब २ सय २२ रोपनी जग्गा छ । यो कित्ता नम्बर ८३३ को जग्गा हो । यो जग्गालाई स्थापना काल देखिनै पृथ्बी नारायण क्याम्पसले भोग चलन गर्दै आएको छ। तर अहिले यो जग्गालाइ त्यहाको एक पराजुली परिवारले आफुहरुको पुर्खाको बिर्ता भएको दाबि गरिरहेका छन भने पृथ्वीनारायण क्याम्पसले यो जग्गा २०३२ सल देखि फिल्डबुकमा आफ्नो दाबि रहेको बताउछ । क्याम्पस प्रमुख प्रा. डा सरोज कोइरालाले त्यो जग्गा क्याम्पस हो र क्याम्पसको नाममा आउने दाबी गर्नुहुन्छ ।
अन्त्यमा क्याम्पसकाका संस्थपक प्राचार्य जर्ज जोनले विद्यार्थीहरुका लागि त्यो जग्गा छोडिदिन पराजुली परिवारलाई आग्रह गर्नुभएको छ । साथै उहाँले क्याम्पसको हातामा रहेका सटरहरु भाडा तिरेर अधिकृत रुपमा बस्न सुझाउनु भएको छ । तर शिक्षा लिने ठाउँमा झैझगडा उपयुक्त नहुने उहाँको भनाई छ । त्यसैले शिक्षालयहरुलाई राजनीतिक दलको अखडा बनाउनु हुदैन ।
प्रतिक्रिया लेख्नुहोस्:-