पोखरा, १२ माघ ।
तनहुँको एक अस्पताल काम न काजको जस्तै भइरहेको छ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर ११ मा रहेको ढोरफुलबारी सहिद अस्पताल, यो १५ बेडको अस्पताल हो । यो अस्पताल करिब १८ रोपनी जग्गामा फैलिएको छ। केहि वर्ष अगाडि जर्मनीले निर्माण तथा संचालन गरेको यो अस्पताललाइ अहिले शुक्लागण्डकी नगरपालिकाले संचालन गर्दै आइरहेको छ ।
यो अस्पतालमा एकजना एम बि बि एस डाक्टर सहित १० जना कर्मचारी छन्। यस अस्पतालका ५ जना कर्मचारीहरु नेपाल सरकारका कर्मचारी छन भने एक जना एम बि बि एस डाक्टर, एक जना स्टाफनर्स, एक जना ल्याब असिस्टेण्ट र दुइ जना कार्यालय सहयोगी गरि ५ जना कर्मचारी शुक्ला गण्डकी नगरपालिकाले आफ्नो आन्तरिक स्रोतबाट करारमा नियुक्ति गरेको छ। शुक्लागण्डकी नगरपालिकाको स्वास्थ्य शाखाले प्रसारणका लागि दिएको जानकारी अनुसार यस अस्पतालका एम बि बि एस डाक्टरको मासिक पारिश्रमिक ५० हजार, ल्याब असिस्टेण्टको २६ हजार, स्टाफनर्सको २८ हजार र दुइ जना कार्यालय सहयोगीको १९ हजारका दरले ३८ हजार रहेको छ । यसरि यो अस्पतालमा शुक्लागण्डकी नगरपालिकाको आन्तरिक स्रोतबाट मासिक एक लाख ४२ हजार लगानी भैरहेको छ ।
अन्य लोक सेवा आयोगबाट आएका ५ जना कर्मचारीको पनि लगभग यस्तै हाराहारीको पारिश्रमिक छ। यसलाई जोडेर हेर्ने हो भने मासिक रुपमा करिब २ लाख ८० हजार यो अस्पतालमा नेपाल सरकारले लगानी गरिरहेको छ। यो अस्पतालमा एक्स रे मेसिन छ तर एक्स रे गर्न सक्ने जनशक्ति छैन । अस्पतालमा भिडियो एक्स रे मेसिन पनि छ तर भिडियो एक्स रे गर्न सक्ने जनशक्ति पनि छैन। नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार यो अस्पतालमा इ सी जी पनि छ तर जनशक्ति छैन, अस्पतालमा डेण्टल सेट छ तर दन्त परिक्षण गर्न सक्ने जनशक्ति नै छैन । अनि १० जना कर्मचारीले काम चाइ के गर्छन त, के यो अस्पताल आफ्ना मान्छेलाई जागिर खुवाउने अखडा हो ?भन्ने प्रश्नमा शुक्लागण्डकी नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले नगरपालिका अस्पताललाई व्यवस्थापन गर्ने हिसाबले लागिरहेको तर केही प्राविधिक विषय नमिलेको कारणले गर्दा अव्यवस्थित भएको बताउछन् ।
अस्पतालले दिएको जानकारी अनुसार गत पुस महिनामा यस अस्पतालमा जम्मा १ सय ३९ जनाले प्राथमिक उपचार लिए भने मंसिर महिनामा जम्मा १ सय ५६ जनाले, एकचोटि यसलाई यसरि हेर्दा, पुस महिनामा सरकारले करिब २ लाख ८० हजार लगानी गरेर जम्मा १ सय ३९ जनालाई प्राथमिक उपचारको सेवा दिएको छ । तर अस्पताल नजिकैको मेडिकलले भने मासिक ६ सय जनालाई सेवा दिने गर्दछ । तर नगरपालिकाका प्रवक्ताले भने भूगोल सानो र जनसंख्या कम भएकाले सेवा लिन आउने सेवाग्राहीको संख्या कम भएको हो भने ठूलै विरामी भइहाले विरामी सिधैँ पोखरा वा दुलेगौडा जाने गरेको कारणले गर्दा अस्पतालमा आउने विरामीको चाप कम भएको बताउछन् ।
यो अस्पतालमा यति राम्रो डेन्टल सेट काम नपाएर बसिरहेको छ। यो डेण्टल सेट मात्रै भयो भने पनि एकजना डेण्टिस्ट पढेको विद्यार्थीले राम्रोसंग ब्यबसाय संचालन गर्न सक्दछन तर “यस्तै छ यहाको चलन“ सरकारको यो डेण्टल सेट हावा खाएर बसेको छ, डेण्टीस्ट पढेका हजारौ युवाहरु विदेशि रहेका छन्।
यस शुक्लागण्डकी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष दलबहादुर थापा भने यो अस्पतालको स्तरउन्नति वडाको क्षमता भन्दा माथि रहेको र यसलाई नगरपालिकाले हेर्नुपर्ने बताउछन । तर प्रवक्ताले भने वडासँग समन्वय गरेर अगाडी बढ्ने जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-