पोखरा, १० माघ ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको प्रवद्र्धनमा पर्यटक यातायातमा खटिने चालक तथा सहचालकलाई आतिथ्यता, ट्राफिक नियम लगायतमा तालिम दिइएको छ ।
संघले माघको पहिलो हप्ता चालक तथा सहचालकका लागि सञ्चालित दुई दिने तालिममा ७० जना सहभागी रहेको संघका गण्डकी प्रदेश अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिनुभयो ।
तालिमका क्रममा सहभागीलाई ट्राफिक निती नियम, यात्रुलाई गरिने आतिथ्यता तथा व्यवहार, सुरक्षा तथा प्रविधिक पक्षबारे जानकारी गराइएको थियो ।
पर्यटकहरू सर्वप्रथम चालक तथा सहचालकसँग प्रत्यक्ष सम्पर्कमा जाने भएकोले त्यहाँ गरिने व्यवहारले प्रत्यक्ष पर्यटनमा प्रभाव पार्ने उल्लेख गर्दै संघका अध्यक्ष पाण्डेले आतिथ्यताका साथै ट्राफिक नियम, सुरक्षा तथा प्राविधिक पक्षबारे दिइएको तालिम बहुउपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
उक्त अवसरमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराई, संघका संस्थापक अध्यक्ष मदन शर्मा खनाल, सल्लाहकार केदारनाथ शर्मा लगायतले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न सहभागीलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-